इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराहीमा आज शनिवारदेखि प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ शुरु भएको छ ।

‎नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शुरु भएको मेलाको उद्घाटन घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले गरे । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख चौधरीले खाम भाषाले मगर समुदायलाई बोल्न र विकास गर्न सिकाएको र आज आएर त्यही भाषा बोलचालीमा मात्रै सीमित रहेको बताए ।

मगर समुदायको खाम भाषा ओझेलमा परेको बताउदै उनले यो भाषालाई लेखपढ्को भाषा बनाउनुपर्ने बताए । उनले स्थानीय पाठ्क्रमअनुसार घोराही उपमहानगरले खाम भाषाको पाठ्यक्रम तयार पार्न लागेको समेत बताए । प्रमुख चौधरीले मगर समुदायमा रहेका कला, संस्कृति र भेषभूषालाई जोगाउन जरुरी रहेको समेत बताएका थिए ।

नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढामगरको अध्यक्षता भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोका मगर, एमाले दाङ जिल्लाका उपाध्यक्ष मनोहर बुढाथोकी, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, मगर संघका वरिष्ठ उपाध्यक्ष मित्रलाल घर्ती मगरलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मगर सांस्कृतिक पहिचान झल्किने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । घोराहीको सहिद लखन थापा पार्कबाट निकालिएको सांस्कृतिक पहिचान झल्कने भेषभुषा, झाँक्रीसहितको ¥याली बजार परिक्रमा गरेर महोत्सव स्थलमा प्रवेश गरेको थियो । घोराहीस्थित झिंगौरामा शुरु भएको मेला माघ ११ गतेसम्म चल्नेछ । मेलाबाट भएको आम्दानीबाट बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य आयोजकले राखेको छ ।