दाङ। दाङ जिल्ला उद्योग वाणिज्य संघले कृषि तथा साना उद्योग व्यवसायको प्रवर्धनसँगै पर्यटन क्षेत्रको विकासका लागि दाङको छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव गर्ने भएको छ ।
संघको आयोजनामा ‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नारासाथ आगामी फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा छैठौं कृषि पर्यटन महोत्सव हुन थालेको हो ।
महोत्सव आयोजक दाङ जिल्ला उद्योग बाणिज्य संघले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव घोराही उपमहानगरपालिका –१४ झिंगौरामा हुन जानकारी दिएको छ ।
स्थानीय कृषि उत्पादनको प्रवर्धनसँगै उद्योग व्यवसायलाई चलाएमान बनाउँदै घोराहीमा घोषणा भएको लक्ष्मीपुर औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिए ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक बस्तुको प्रदर्शनी एवम् बिक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवम् सूचना प्रविधिको प्रदर्शनी गरिने मूल आयोजक समितिका सहसंयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट स्थानीय उत्पादनका सामग्री राखिने र करिव २० करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।











