इन्द्रेणी संवाददाता

दाङ । नेपाल निजामती कर्मचारी संगठन दाङले नेपाल पत्रकार महासंघमा दाङ जिल्लाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संगठनले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

संगठनका जिल्लाका अध्यक्ष शेरबहादुर केसीले कार्यक्रमको बारेमा विषय प्रवेश गराउँदै यो संगठन देशको शासन प्रणाली र सेवा प्रवाहमा अब्बल संस्थाको रुपमा रहेको बताए । संगठनले जिल्लामा रहेर हरेक वर्ष रचनात्मक काम गर्दै आइरहेको र त्यसको प्रचारप्रसार गरेर पत्रकार महासंघ दाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा आगामी दिनमा पनि संगठन र पत्रकार महासंघबीच आपसी सम्बन्ध अझै प्रगाढ हुनेमा जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले यो संगठनले विगतदेखिनै सामाजिक कार्यमा राम्रो भूमिका निर्वाह गर्दै आएको बताए । उनले अगामी दिनमा अझै संगठनलाई सामाजिक कार्यमा क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले कर्मचारी संगठनले जिल्लामा गरेका हरेक सामाजिक कामहरु उत्कृष्ट रहेको बताए । उनले दाङमा पत्रकार महासंघ र निजामती कर्मचारी संगठनबीचको सम्बन्धलाई अझै राम्रो बनाउन पत्रकार महासंघ सधै साथ र सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन दाङ जिल्लाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका सदस्य भुपेन्द्र मल्लले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण संगठनका सहसचिव मोहनसिं सुनारले गरेका थिए ।