बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताएका छन् ।
लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभूत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाइ गर्ने गरी भूमिका बढाउन जरुरी रहेको बताए ।
‘अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशीलता बढाउछ’उनले भने,–‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो । त्यही अनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’ दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउदै विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरुले शिक्षण सिकाइ गर्न जरुरी रहेको बताए ।
‘परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अव प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी छ’उनले भने,‘बदलिलो समय र मागको आधारमा सिकाई गर्ने पद्धती पनि बदलिनुपर्छ ।’ प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिदै आचार्यले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताए ।
