इन्द्रेणी संवाददाता
दाङ । तुलसीपुर उपमहानगरपालिकले १९ वटै वडाका बालबालिकाको कुपोषण जाँच शुरु गरेको छ ।

गैरसरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखि ५९ महिना सम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । न्यौपानेकाअनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार समेत गर्ने छ ।

पोषण जाँचको एक समारोहका बीच आज वडा नम्वर १० बाट सुरु गरिएको छ । समारोहलाई सम्बोधनगर्दै तुलसीपुरका नगरप्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताए । पौष्टिक आहारा कमी भए कुपोषण लगायतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगरप्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताए ।

कार्यक्रममा वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी,स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगायतकाले पौष्टिक सचेतनाका बिषयमा आफ्ना विचार राखेका थिए ।