दाङ। दाङमा चार जना हात्तीपाइले रोग पुष्टि भएको छ । जिल्लामा एक हजार ७८९ घरधुरीका छ हजार ३५३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेनबाट ४६ जनाको हात्तीपाइले पोजेटिभ देखिएको हो ।
एन्टिजेनबाट पोजेटिभ आएका ४६ जनाको रगत परीक्षण गर्दा चार जनामा हात्तीपाइले पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले जानकारी दिए। जिल्लाका घोराही र गढवा गाउँपालिकामा बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सर्भे गरिएको थियो ।
जिल्लामा हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम प्रभावकारी भए/नभएको यकिन गर्न गरिएको परीक्षणका क्रममा हात्तीपाइलेका बिरामी फेला परेका पर्सन चन्दले बताए । जिल्लामा हात्तीपाइलेका विरामी देखिएपछि हात्तीपाइले रोग निवारणको अभियान अझै प्रभावकारी रुपमा लैजानुपर्ने चुनौती देखिएको छ ।











