बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा आज मंगलबार देखि अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ शुरु भएको छ ।

भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाँउपालिकाको सहयोगमा संचालित प्रतियोगिताको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताए ।

कार्यक्रममा नरैनापुर वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नु पर्ने बताए । भेरी रकर्स क्लबका अध्यक्ष मोहम्मद साजिद खानले वडा स्तरमा भएका खेलाडिको प्रतिभा पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यलाई यस प्रतियोगिताले सार्थकता प्रदान गर्ने बताए ।

प्रतियोगिताको बिजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपबिजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो खेलमा राप्ती सोनारी विजय
यसैबीच प्रतियोगिता अन्तरगत आज मंगलबार भएको खेलमा राप्ती सोनारी बिजयी भएको छ । नरैनापुरलाई उद्घाटन खेलमा ५ विकेटले पराजित राप्ती सोनारीले बिजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको नरैनापुरले १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रेको राप्ती सोनारीले ११.३ ओभरको समाप्तिमा आफ्ना ७ विकेटको क्षेतिमा सो लक्ष्य पूरा गरेको थियो ।