इन्द्रेणी संवाददाता
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कसैलाई चित्त नबुझुदैमा अहिलेको सरकार नढल्ने बताएका छन् ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार विहान घोराहीमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् सदस्यलाई सम्मान तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले यो सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताएका हुन् ।

निश्चित उद्देश्य पूरा गर्नका लागि बनेको गठबन्धनबाट बनेको सरकार उद्देश्य पूरा नरेरै नढल्ने चर्चा गर्दै दुई प्रमुख पार्टी काँग्रेस र एमालेलाई असफल हुने छुट समेत नरहेको दावी गरे ।

सरकारमा रहेका दुई दल चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर अघि बढिरहेको बताउदै महासचिव पोख्रेलले अब आउने संकट समाधान गर्न संवेदनशील रहेको बताए । विगतमा सरकारमाथि अदालतको हस्तक्षेप, अराजकता र अस्थिरताका कारण देशको अर्थतन्त्र समेत कमजोर हुन पुगेको उनले बताए । अहिले देशको आर्थिक अवस्थामा सुधार आइरहेको दाबी उनको थियो।

संस्थागत पत्रकारिता कमजोर हुँदा सामाजिक सञ्जाललाई पत्रकारिता मान्ने जमात बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोख्रेलले संस्थागत पत्रकारितालाई बलियो बनाउने गरी नयाँ बहस सुरु गर्न आग्रह गरे ।

सो अवसरमा महासचिव पोख्रेलले महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी केन्द्रीय पार्षद्, प्रदेश पार्षद् सदस्यहरुलाई माला र टिका लगाएर सम्मान तथा बधाई दिएका थिए ।