काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् ।
तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा बनेको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपित सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।
“प्रतिवेदनमा उल्लेख भएका व्यक्ति एकैचोटी कारबाहीमा ल्याउन सक्दैनौँ । पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ”, उनले भने“सहकारी ठगी गर्नेहरू उम्किन्छु भन्ने नसोचे हुन्छ ।” मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए ।
अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रिक पद्धतिविपरीत कार्य भएको सुनाए ।,“सहकारी ठगी गर्ने चाहे त्यो कांग्रेस, एमाले, माओवादी होस् या जोसुकै हामी छोड्दैनौँ”,मन्त्री गुरुङले भने ।











