चितवन। चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नंम्बर को बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरु रहेका छन् । हायसमा सवार गोर्खा आरुघाट गाँउपालिका १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव ३५ वर्षको पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले जानकारी दिएका छन् ।

यस्तै दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको निधारमा चोट छ । बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर १३ प्रगती टोल बस्ने वर्ष १९ को मो।साकिर मिँयाको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मिँयाको दुबै खुट्टामा चोट छ ।