इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले ५० किलो लाुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ४ का ३७ वर्षका सुविन्द्र पुन, सोही गाउँपालिका ३ बस्ने ५१ वर्षका चेतन बुढा र भूमे गाउँपालिका घर भई घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना बस्ने ४२ वर्षकी बिनी पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ । गोप्पे सूचनाका आधारमा पुन र बुढालाई आज दिउँसो २ बजेतिर लागुऔषध चरेशसहित पक्राउ गरेको थियो । चरेशसहित पक्राउ परेका सुविन्द्रलाई सोधपुछ गर्दा मसिनामा बस्दै आएका विनी पुनबाट खरिद गरेको बताएपछि प्रहरीले विनीको डेरामा छापा मारेको थियो । खानतलासीको क्रममा विनीको भान्सा कोठाबाट प्रहरीले लागुऔषध अफिम बरामद गरेको थियो ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी ईश्वर थापाले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गरेको छ । पछिल्लो समयमा दाङमा प्रहरीले ब्राउनसुगरलगायतका लागुऔषध वराबद गर्दै आएको छ । यसलाई हेर्ने हो भने दाङ लागुऔषधको ट्राञ्जिट प्याइन्ट बन्दै गएको छ ।