बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । शनिवार रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।

प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउने गरी निर्णय गरेको थियो । सो निर्णयहरुको कार्यान्वयन गर्ने गरी काम अघि बढ्ने समेत जानकारी दिए ।

उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अवलम्बन गरेको बताए । ‘प्रदेश सरकारले राम्रोसँग बुझेको छ । जव सम्म उद्योगी, व्यवसायीहरुले निर्विवाद ढंगले उहाँहरुलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तवसम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो’, मुख्यमन्त्री आचार्यले भने, ‘सरकारले लगानीको वातावरण बनाउछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।’

उत्पादनको क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री आचार्यले जोड दिदै भने, ‘हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयातभन्दा निर्यातमा जोड दिन जरुरी छ, स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणको लागि सरकारले सहयोग गर्छ ।’

व्यवसायीहरुलाई पर्ने कानुनी जटिलताको गँठो फुकाउन सरकार तयार रहेको समेत बताए । ‘प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ’, मुख्यमन्त्री आचार्यले भने, ‘तपाईहरुलाई परेका कानुनी समस्याहरु, ती बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानुनहरुमा समस्या देखा परेका छन् भने समयमा बुँदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’