कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्ने बताएका छन् ।
कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरको उद्घाटन गर्दै नागरिकलाई निरोगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने बताएका हुन् । “नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालसँग सहकार्य गर्न तयार छ”, उनले भने, “समुदायलाई निरोगी बनाउनुछ, नसर्ने रोगको समस्या बढ्दो छ । निरोगी बन्न हाम्रो जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।”
मुख्यमन्त्री आचार्यले स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउदै लगिने बताए । लुम्बिनी प्रदेशभित्र मातृशिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै आचार्यले सुधारका लागि सामुदायसँग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको लागि लगानी बढाएको, देशकै ठूलो अस्पताल निर्माणको काम सुरु भएको जानकारी दिदै निरोगी प्रदेशबासी बनाउने अभियानमा सरकार रहेको बताए ।
पाँच करोडको लगानीमा डायलासिस सेन्टर स्थापना
कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टर उद्घाटन गरिएको छ । बाणगंगा–१ कपिलवस्तुमा सञ्चालनमा आएको डायलासिस सेन्टरको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन् ।
मृगौला फेल भएका बिरामीहरुलाई डायलासिस सेवा प्रदान गर्न सामुदायिक डायलासिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
पाँच करोडको लगातमा सञ्चालनमा आएको डायलासिस सेन्टरमा दश वटा डायलासिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता छ । लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् ।











