दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुर्नस्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ ।
प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि रकम उपलब्ध गराउदै आएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। ‘एक त विपद् आउनै भएन् । आएको खण्डमा त्यसबाट हुने क्षतिलाई कम गर्नेगरी प्रतिकार्यका योजना कार्यान्वयनमा जोड दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश सरकारले दिने राहत तथा पुर्नस्थापनाको रकम सबै प्रक्रिया पूरा भएर आएको खण्डमा तत्काल निकासा गरिन्छ ।’
साउन, भदौ र असोज महिनाको १३ गते सम्मको विवरण अनुसार राहततर्फ ३४ लाख ७५ हजार र पुर्नस्थापना तर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ निकासा गरिएको छ । राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा ३ लाख ८० हजार, बर्दिया जिल्लामा २ लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरुप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले जानकारी दिएका छन् ।
यस्तै पुर्ननिर्माणको लागि प्यूठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । बाढी, पहिरो, आगलागी, चट्याङ् लगायतमा विपद्मा परेकाहरुलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुर्नस्थापनाको लागि रकम उपलब्ध गराउदै आएको हो ।
गत आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारले राहत र पुर्नस्थापनाको लागि पाँच करोड २६ लाख ९६ हजार ७ सय १९ रुपैयाँ उपलब्ध गराएको छ । राहत तर्फ २ करोड ७१ लाख ५१ हजार सात सय १९ रुपैयाँ र पुर्नस्थापना तर्फ २ करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको छ । राहत अन्तरगत दाङ जिल्लामा २५ लाख ३२ हजार, अर्घाखाँचीमा २५ लाख ३१ हजार, रोल्पामा २० लाख १० हजार, पाल्पामा १२ लाख ७५ हजार, रुपन्देहीमा १० लाख ५ हजार, कपिलवस्तुमा ८ लाख ३० हजार, गुल्मीमा एक लाख ८० हजार, प्यूठानमा ४ लाख ८० हजार, बर्दियामा ६ लाख ५० हजार, बाँकेमा दुई लाख रुपैयाँ राहत रकम वितरण गरिएको छ । यस्तै पुर्नस्थापनाको लागि २ करोड ५५ लाख ४५ हजार रुपैयाँ वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।
यस्तै पुर्नस्थापनाको लागि प्यूठान जिल्लामा एक करोड ४३ लाख ५५ हजार, गुल्मी जिल्लामा ५१ लाख ७५ हजार, रोल्पा जिल्लामा ३२ लाख २५ हजार, पाल्पामा २५ लाख २० हजार र दाङ जिल्लामा दुई लाख ७० हजार रुपैयाँ पुर्नस्थापनाको लागि खर्च भएको छ । आर्थिक बर्ष २०८१/८२ को साउन एक गते देखि असोज १३ गतेसम्म प्रदेशमा विपद्का चार सय ६ घटना घटेका छन् । जसमा परेर ९५ जनाको मृत्यु भएको छ भने दुई सय ७ जना घाइते र १० जना वेपत्ता भएको विवरण छ । हाल सम्मको विपद्को घटनाले गर्दा पाँच करोड ११ लाख ९५ हजार पाँच सय रुपैयाँ क्षति भएको छ । व्यक्तिगत घरमा पूर्ण क्षती ७५, आंशिक घरमा क्षतीर्भका दुई सय ९१ छन् । यो अवधिमा बाढीका ३०, पानीमा डुबेर ६०, अधिक बर्षा ६२, आगलागीका ५०, विषाक्त खाद्य सेवन १९, पहिरो २९, सर्पदंश ७८, जनावर आक्रमण १५ वटा घटना घटेका छन् ।
यस्तै चट्याङका २२, तातो हावा लहरको एक, डुबानका ९, हावाहुरी एक र अन्य ३० गरी चार सय ६ वटा विपदका घटना भएका छन् । बाढीमा परेर १०, पानीमा डुबेर ५१, आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बिषाक्त खाद्य सेवनबाट दुई, पहिरोमा परेर आठ, सर्पदंशबाट नौं, जनावर आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । चट्याङमा परेर ६ जना, तातो हावा लहरबाट एक जना, अन्यबााट पाँच जनाको मृत्यु भएको छ ।