दाङ । दाङ-सल्यानको सिमाना राम्ररीमा सडक भासिएपछि अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा आएको छ । शनिबार बिहानैदेखि अवरुद्ध सडक झन्डै १० घण्टापछि नयाँ ट्र्याक खोलेर सुचारु गरिएको हो ।
सडक शनिवार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । एस्काभेटरको सहायताले भित्ता काटेर सडक निर्माणपछि एकतर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत दाङ–सल्यान–सुर्खेत र सल्यान–बालुवासंग्रही–सुर्खेत सडक पनि सञ्चालनमा आएको छ । मदन भण्डारी राजमार्गको कालीमाटी गाउँपालिका चार टटेलीमा लेदोसहितको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो हटाएपछि दुई तर्फी नै यातायात सञ्चालन आएका हुन् ।