मुगु । कर्णाली प्रदेशको दुर्गम मानिने मुगु जिल्ला ६५ औं साक्षर जिल्लाका रुपमा घोषणा भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मुगुलाई देशभरका साक्षर जिल्लाहरुमध्ये ६५ औं साक्षर जिल्लाका रुपमा घोषणा गरेका हुन् ।

देशभरीका साक्षर जिल्ला मध्ये ६५ औँ साक्षर जिल्ला भएपनि साविकको कर्णालीका पाँच जिल्लामा पहिलो साक्षर जिल्ला पर्दछ । मुगुको एक नगरपालिका र तीन वटा गाउँपालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई पनि साक्षर घोषणा गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६.५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । छायाँनाथ रारा नगरपालिकाका साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको छ।

सोमबार आयोजित साक्षर जिल्ला घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले  हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीति अनुरुप जिल्लाको साक्षरता सूचक ५० प्रतिशतभन्दा माथि पूरा भएकाले साक्षर जिल्ला घोषण गरिएको बताए ।

नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाइएको छ ।