काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने बताएका छन् ।
सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै ओलीले तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिए ।
देश र जनताका लागि गर्न पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न पनि ओलीको निर्देशन छ । प्रधानमन्त्रीले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका थिए ।











