इन्द्रेणी संवाददाता
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले खाली चोकमा हस्ताक्षर गराई आफू खुसी रकम असुली गर्नेलगायत अनुचित लेनदेन गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच जना महिला छन् भने दुई जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा दाङ बिजौरी २ घर भई हाल घोराही १५ बि।पि। चोक बस्ने बर्ष ५७ की माधवा बस्नेत, बस्नेतका श्रीमान बर्ष ५८ को धर्म बहादुर बस्नेत, घोराही १५ बस्ने यामा कुमारी बस्नेत, घोराही ८ बस्ने बर्ष ५१ को तिलक बहादुर महरा क्षेत्री, घोराही १५ प्रगतीनगर टोल बस्ने बर्ष ५३ की पार्वता के।सी, घोराही १५ बस्ने बर्ष ३४ की ममता कुमारी के।सी। डिसी र जिल्ला घोराही १५ बस्ने बर्ष ३७ की ऋषा बोहरा रहेका छन् ।

पक्राउमा परेकी माधवा बस्नेतले जिल्लाका केही व्यीक्तहरुलाई ऋण लगानी गर्ने र चर्को ब्याज असुल्ने र ऋण लिने व्यक्तिहरुबाट खाली चेकमा दस्तखत गराई चेक लिने गरेको र चेक नभएका व्यक्तिसँग ऋण लिएको भन्दा वढी रकम राखी तमसुक बनाई ऋण दिदै आएको खुल्न आएको छ । साथै ऋणीहरुसंँग सावा ब्याज बापत रकम असुल गरी सकेपछि निजहरुले गरेको तमसुक तथा दिएको चेक माग गर्दा निजले हराएको तथा च्याती फाली दिउला भनी बहाना बनाई केही चेकहरुमा आफ्नै नाम राखी बाउन्स गराएको तथा आफ्नो नाममा बनाएको तमसुक मार्फत आफूले दाङ जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसुरमा मुद्दा दिई अनुचित लेनदेनको प्रहरीले बताएको छ ।

साथै बस्नेतले केही तमसुक आफ्नो नजिक नातेदारहरुलाई लोभलालच देखाई निजहरुको नाममा गराएको र ऋणीहरुबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा समेत निज माधवा बस्नेतले आफ्नो नजिक नातेदार तथा आफन्तलाई लोभलालच देखाई निजहरुको नाम उल्लेख गरी आफुखुसी रकम भरी चेक दिई निजहरुले उक्त चेकलाई सम्बन्धित बैंकबाट बाउन्स गराई अदालतमा मुद्दा दर्ता गराएको समेत खुलेको प्रहरीले जनाएको छ । उनीहरुमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना जानकारी दिएका छन् ।