काठमाडौं । सोमवार रातिदेखि देशका विभिन्न ठाउँमा ठूलो वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले अझै केही दिन ठूलोको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

विभागले लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ ।

यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ ।

यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने बताएको छ । वर्षा ठूलो हुने र यसबाट बाढी पहिरो जस्ता प्राकृतिक विपतका घटना हुने सम्भावना भएकाले सचेत र सतर्कता अपनाउन सबैमा विभागले अनुरोध गरेको छ ।