रुकुम । अबैध बाटोबाट (तल्लो बाटो) अमेरिका पुगेका रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान (बन्धुकधारी) लुटेरा समूहले ओलीको गोली हानी हत्या गरेका हुन् ।

दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको मृतकका माइला बुवा खिमबहादुर ओलीले बताए ।

आइतबार बिहान करिब ५ बजेतिर लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको ओलीले बताए ।

मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली भने ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ । दीपक एक वर्ष अघि मात्रै करीव ८० लाख रुपैयाँ तिरेर अबैध (तल्लो बाटो) बाटोबाट अमेरिका पुगेका थिए । रोजगारीको खोजीमा दीपक जस्ता त्यहाँका हजारौं युवाहरु अबैध बाटोबाट अमेरिका पुगेका छन् ।