इन्द्रेणी संवाददाता
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएपछि लोकतन्त्रको स्थायित्वका लागि संसदका ठूला दल नेकपा एमाले र नेपाली काग्रेसबीच गठबन्धन भएको बताएका छन् । आज मंगलवार विहान प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।

राजनीतिक अस्थिरताले जनतामा अविश्वास पैदा हुँदै गएकाले जनतामा चरम निराशा पैदा हुन थालेपछि लोकतन्त्र सुरक्षित छ है भन्ने सन्देश दिन र जनविश्वास पैदा गर्नका लागि पनि एमाले–काग्रेसको सहकार्य आवश्यकता रहेको उनले बताए । एक अर्काे प्रशंगमा महासचिव पोख्रेलले वामपन्थी एकता असफल भएपछि फेरि त्यही बाटोमा हिँडदा जनतामा विश्वास पैदा नहँने भएकाले पनि एमालेले कांग्रेसँग नयाँ गठबन्धन गर्नुपरेको बताए । उनले लोकतन्त्र संकटमा परेको बेला ठूला दलहरुले सकारात्मक जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले पनि एमाले–काग्रेस एक ठाउँमा आएको दावी गरे ।

अर्काे प्रशंगमा महासचिव पोख्रेलले माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको ३२ सिटलाई जादुको नम्बर बनाएर अहंकार देखाउदै आएकाले त्यसको अन्त्य भएको बताए । उनले अब सबै दल मिलेर लोकतन्त्रलाई बलियो बनाउनुको विकल्प समेत नहेको बताए ।