लीलाधर वली
घोराही। फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गरेको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
प्लान्ट सञ्चालनका लागि आवश्यक फोहोर सङ्कलन हुन नसक्दा परीक्षणका रूपमा मात्रै घरलाई ग्यास वितरण गरिरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठ बताए । प्लान्टका लागि दैनिक २५ टन फोहोर आवश्यक रहे पनि अहिले करिब दुई टन मात्र फोहोर सङ्कलन भइरहेको उनले जानकारी दिए । अहिले परीक्षणका लागि ३४ घरपरिवारलाई दैनिक चार घण्टाका दरले निःशुल्क बायोग्यास वितरण गरिरहेको श्रेष्ठले बताए ।
“घोराही–१६ का करिब एक सय घरमा पाइपबाट बायोग्यास पुर्याउन पाइप विस्तार गरिसकेका छौँ तर फोहोर अभावका कारण सञ्चालन गर्न सकेका छैनौँ,” उनले भने। फोहोर नहुँदा अहिले दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको र त्यही ग्यासलाई खेर फाल्नुभन्दा परीक्षणका रूपमा प्लान्ट वरपरका स्थानीयलाई दिने गरेको उहाँले बताउनुभयो । ग्यास प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आउँदा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन हुने गर्छ ।
प्लान्टका लागि फोहोर बढाउने र आगामी भदौदेखि करिब एक सय घरपरिवारमा बायोग्यास पुर्याउने गरी काम भइरहेको उनले जानकारी दिए । त्यसका लागि घोराहीमा रहेको वधशालालाई व्यवस्थित गर्ने, गल्ने र नगल्ने फोहोर अनिवार्य रूपमा वर्गीकरण गर्ने र अन्य आवश्यक फोहोर गौशालाबाट ल्याउने गरी काम भइरहेको उनले बताए ।
पहिले घोराहीमा प्रशस्त फोहोर हुने भएकाले प्लान्ट स्थापना भए पनि बङ्गुरपालन गर्ने व्यवसायीले बजारको फोहोर उठाउने हुँदा समस्या भएको प्लान्टले जनाएको छ ।
२०७५ मङ्सिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबिच त्रिपक्षीय सहकार्यमा घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्ने सम्झौता अनुसार २०७८ मा प्लान्ट निर्माण भएको थियो ।
सम्झौता अनुसार उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने, कम्पनीको ६० प्रतिशत र केन्द्रको ४० प्रतिशत लगानी गरेर फोहोरबाट ग्यास उत्पादन गर्ने योजना अनुसार प्लान्ट निर्माण गरिएको थियो । प्लान्टका लागि आवश्यक फोहोर व्यवस्थापनका लागि घोराही उपमहानगरपालिको गल्ने र नगल्ने फोहोर उपभोक्तालाई छुट्याउन लगाएर बार अनुसार फोहोर सङ्कलन गर्ने गरेको छ ।
उपभोक्ताले गल्ने नगल्ने फोहोर नुछट्याउने र धेरै जसो फोहोर होटेलबाटै बङ्गुरपालन गर्ने व्यवसायीले लैजाने भएकाले प्लान्टका लागि आवश्यक फोहोर सङ्कलन हुन नसकेको घोराही उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । प्लान्ट स्थापनाका लागि करिब २० करोड रुपियाँ खर्च भइसकेको छ । गोरखापत्रबाट
