काठमाडौं । आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको हो ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । सङ्कलित ती शव अहिले महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको उनले बताए ।

सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ । यस्तै, जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । जहाज दुर्घटना भएपछि विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।