काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताएका छन् ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी परिवर्तनको एजेण्डाको मात्रै नभई सुसासन र समृद्धिको एजेण्डाको पनि जननी भएकोले जनतामा त्यस कुरालाई स्थपित गर्न जरुरी भएको बताए ।

अहिले आफूहरुलार्य हटाउन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको उनले बताए । अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि उनको भनाइ थियो ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने ‘उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’