काठमाडौँ । प्राकृतिक विपद्मा परी बुधबार मात्रै १८ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपद्मा परी एकै दिनमा १८ जनाको मृत्यु भएको हो । यसमा परी २४ जना घाइते भएका छन् ।

अहिले मनसुन देशभरी सक्रिय छ । पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको छ ।

त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सुनसरीमा एक, रोल्पामा दुई, कैलालीमा दुई र कपिलवस्तुमा दुई गरी नौ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । देशका विभिन्न स्थानमा विभिन्न खालका ४४ भन्दा बढी विपत्का घटना भएका प्राधिकरणले जनाएको छ ।