काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डको बैठकपछि विहान १० बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्डको बैठक अहिले बिहान ७ बजे बैठक बस्दैछ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा प्रकाशनमा कमी–कमजोरी हुन नदिन उत्तरपुस्तिकाको अंक रुजु, अंकलाई ग्रेडिङमा रुपान्तरण गर्नेलगायत काम सम्पन्न भइसकेको छ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए। यस पटक सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन्।

त्यस्तै विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ। उक्त अंक अर्थात् १ दशमलव ६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । यस्ता विद्यार्थीलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध नगराउने जनाएको छ ।