कैलाली। कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् । चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका १८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका ३ का ३१ वर्षीय जयराम डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका(९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एक एक जना घाइते भएका छन् ।
चट्याङ लागेर गम्भीर घाइते भएकी घोडाघोडी ९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । टीकापुर र जानकीका घाइतेहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।











