धनगढी । नेपालमा सुन तस्करीको विगविगी भएको त सबैलाई थाहा नै छ । तर अब यहाँ नुनको पनि तस्करी हुन लागेको छ । सरकारले बाजुरा जिल्लावासीका लागि अनुदानमा उपलब्ध गराउने आयोडिनयुक्त नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको खुलेको छ । बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन तस्करी हुने गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गर्दै भने “विगतमा तराईका जिल्लामा बाजुराको नुन जाने गरेको साँचो हो तर अहिले जिल्लाबाहिर नदिनका लागि अनुगमन गर्ने गरेका छौँ ।”
साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट घरका लागि भनेर लाने, त्यसपछि तराईका जिल्लामा पठाउने गरेको थाहा पाएपछि अहिले कडाइ गरेको पनि उनले बताए । नेपाल–भारत सरकारको सहयोगमा साल्ट ट्रेडिङमार्फत ढुवानी अनुदानमा बाजुरामा आयोडिनयुक्त भानु नुन प्रतिकिलो नौ रुपियाँमा बिक्री हुने गरेको छ ।
कैलाली र कञ्चनपुरमा सोही गुणस्तरको आयो नुन २० रुपियाँ पर्ने भएकाले भानु नुन तराईका जिल्लामा तस्करी गरेर ल्याउने गरेको पाइएको छ ।











