इन्द्रेणी संवाददाता
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । सबै तयारी भइसकेको र केही प्राविधिक समस्या नआएमा भोलि ४ बजे नतिजा सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्दैछ । जसमा विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।