भक्तपुर । आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीमा) आबद्ध रहेको भन्दै भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई अहिले ललितपुर बस्ने मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का भीमबहादुर तामाङ, बाह्रबिसे नगरपालिका–२ का सुजन रसाइली र भोटेकोशी–२ घर भई अहिले नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत प्रहरी हबल्दार कृष्णबहादुर बोहरा रहेका छन् ।

उनीहरूले गएको असार ४ गते आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीमा) आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको दुई करोड रुपैयाँ लुटेर फरार भएका थिए ।