इन्द्रेणी संवाददाता

दाङ । दाङसहित पश्चिमी क्षेत्रमा वर्षा हुँदा शितलता छायको छ । हिजो राति परेको वर्षातका कारण यहाँको तापक्रममा केही कमी आएको छ । गर्मीले व्याकुल बनाएको जनजीवनमा केही शितलता महसुस भएको छ । लामो समयसम्म पानी नपर्दा गर्मी बढ्दै गएको थियो । गर्मीका कारण जनजीवन प्रभावित भएको थियो । गर्मीकै कारण बन्द रहेका जिल्लाका विद्यालय पनि आजदेखि खुल्दै छन् ।

पश्चिम क्षेत्रमा अहिले पनि बदली रहेको छ । हिजोराति देखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो ।

कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको महाशाखले जनाएको छ । दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।