
इन्द्रेणी संवाददाता
काठमाडौं । एक साता अघि नेपालमा भित्रिएका मनसुन अझै सक्रिय हुन सकेको छैन । मनसुनी अहिले कोशी प्रदेशमा मात्रै सक्रिय भएको देखिन्छ । कोशीका सबैजसो जिल्लाहरुमा पानी परिरहेको छ भने गएरातिदेखि कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पनि मनसुनको गति सुस्त रहेको छ । मनसुन प्रणाली सबै ठाउँमा सक्रिय हुन अझै साता बढी लाग्ने महाशाखाले जनाएको छ । साता दिन वित्तिसक्दा पनि मनसुन सबै ठाउँमा सक्रिय नहुदा देशमा विभिन्न स्थानमा गर्मी बढेको छ । कोशीलगायतका पूर्वका केही स्थानमा तापक्रम घट्दै गएपनि विशेष गरी पश्चिम तराइका जिल्लाहरुमा गर्मीले जनजीवन प्रभावित भएको छ ।
मनसुनको गति सुस्त भएकाले त्यहाँसम्म आइपुग्न केही दिन लाग्ने भएकाले पश्चिम तराईँका जिल्लाहरुमा अझै केही दिन गर्मी रहने महाशाखाले जनाएको छ । पश्चिम तराइँका सबैजसो जिल्लामा ४० डिग्री सेल्सियसभन्दा माथि छ । बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ भने वालीनाली समेत सुक्न थालेको छ ।









