काठमाडौं । चालु आर्थिकको ११ महिनामा करिव सात लाख नेपालीहरुले रोजगारका लागि देश छोडेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आव २०८०/८१ को ११ महिनामा रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएको वैदेशिक रोजगार विभागको तथ्याङकले देखाएको छ ।
जेठ महिनामा पहिलो श्रम गन्तव्य युएई बनेको छ । यस अवधिमा युएईमा २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । चालु आवको ११ महिनामा एक लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएर युएई पुगेका छन् । यस अवधिमा दोस्रो श्रम गन्तव्य साउदी अरब १३ हजार ३६६ जना, तेस्रो गन्तव्य कतार ११ हजार ९७३ जना गएका छन् । यस अवधिमा मलेसिया चौथो श्रम गन्तव्य आठ हजार ७५२ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।
आवको १० महिना (वैशाख) सम्म ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स रकम नेपाल भित्रिएको छ ।
यो वैधानिक रुपमा श्रम स्वीकृति लिएर विदेश जानको संख्या हो । अन्य विभिन्न मुलुक हुदै अवैधानिक बाटोबाट वैदेशिक रोजगारमा जानेको संख्या पनि कम छैन । देशमा रोजगारको सम्भावना नभएपछि नेपालको युवा जनसक्ति दैनिक हजारौको दरले विदेश प्यालायन भइरहेको छ । तर नेपाल सरकार युवाहरु स्वदेशमा स्वरोजगार गराउनुभन्दा विदेश गएर रेमिट्यान्स भित्रिनुमा गर्व गरिरहेको देखिन्छ ।
