काठमाडौं । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश सरकार ढलेको हो । सरकार ढलेपछि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका मुख्यमन्त्री यादवको पक्षमा ५० र विपक्षमा ५३ मत पर्‍यो। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।