दाङ । स्वर्गद्वारी गुठी पीडित किसानहरुले घोराहीस्थित मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको छ ।
मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । बिहान १० बजे कार्यालयमा ताला लगाउन गएका गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट केही किसान घाइते भएका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको थियो ।
सरकारले पटक–पटक आफूहरूसँग विभिन्न सम्झौता गरे पनि कार्यान्वयन नगरेकाले तालबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । यो क्षेत्रको स्थिति अहिले तनावग्रस्त छ ।
