काठमाण्डौ, १४ साउन
बाढी, पहिरो लगायतका विपद्को जोखिममा रहेका नागरिकले सम्भावित खतराको अवस्था अघि अब मोवाइल मार्फत सन्देश पाउने भएका छन् । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच विपद् सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने सम्झौता भएसँगै नागरिकले पूर्व जानकारी पाउने भएका हुन् । badhi-3

महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना पठाइने विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताउनुभयो ।

विभागका महानिर्देशक शर्माले कम्पनीसँग भएको दुई वर्षे सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसैविच, बाढी पूर्वानुमान शाखाले बाढी जानसक्ने भएकाले सावधानी अपनाउन भन्दै झण्डै ६ लाखलाई मोबाइलमा म्यासेज पठाएको जनाएको छ । नदी जलाधारमा पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन शाखाले गएको तीन दिनमा झण्डै ६ लाख एनसेल प्रयोगकर्तालाई एसएमएस पठाएको हो ।।