काठमाडौं । देशमा आर्थिक अनुशासनहीनता बढ्दै जाँदा एकै वर्षमा सवा दुई खर्ब रुपैयाँ बेरुजु थप भएको छ । महालेखापरीक्षक कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार गत वर्षको तुलनामा कारबाही गरी टुंगो लगाउनुपर्ने कुल बेरुजु अंक २३.२८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० सम्ममा कारबाही गरी टुंगो लगाउनुपर्ने कुल बेरुजु अंक ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । ०७८/७९ सम्ममा नौ खर्ब ५९ अर्ब ७९ करोड रहेको बेरुजु यसपटक दुई खर्ब २३ अर्ब ४७ करोड ७६ लाख रुपैयाँले थप भएको हो ।

प्रत्येक वर्ष बेरुजुको अंक बढ्दै गएको, तर त्यसको तुलनामा फस्र्योटको अंक घट्दो क्रममा रहेको भन्दै महालेखाले चिन्ता प्रकट गरेको छ । महालेखापरीक्षक तोयम रायाले सार्वजनिक वित्तीय प्रशासनमा प्रत्येक वर्ष बेरुजु बढ्दै जानुले आर्थिक अनुशासन पालनाको स्थिति कमजोर रहेको प्रस्ट भएको बताए । नयाँ पत्रिकाबाट