काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्रीसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेता सहभागी रहेको बताइएको छ ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेताको बैठकमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतको पनि सहभागिता रहेको बताइएको छ ।

प्रमुख प्रतिपक्ष दल काग्रेसले समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम समेत तोक्नुपर्ने माग राख्दै आएको छ भने सत्ता पक्षका नेताहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । त्यसै कारणले समितिले कार्यादेशमा निर्णय लिन सकेको छैन ।