दाङ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ दिएको छ । अदालतबाट सफाइ पाएसँगै उनी अब विश्वकप खेल्न पाउने भएका छन् । लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो ।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने जानकारी दिएका छन् । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिरिनुपर्ने छ ।
जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बुधबार मात्रै दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो ।
