काठमाडौं । सहकारी ठगीको मुद्दालाई जोरदार उडाउदै संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस र सत्ता पक्षका दलहरुमा एउटा सहमति भएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो ।
बालुवाटारमा शनिबार बसेको सत्तारुढ दल र नेपाली कांग्रेसबीचको बैठकले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति गरेका हुन्। यो प्ररकणमा छानविन समिति बनाउने मोटामोटी सहमति भएपछि संसदको गतिरोध हट्न अनुमान गरिएको छ ।
त्यसका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाइएको छ। कार्यदलमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहनेछन्। कार्यदलले टीओआर बनाएपछि छानबिन समितिको काम कारबाही अगाडि बढ्ने बताइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी हिनामिना प्रकरणमा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको थियो भने गहृमन्त्री लामिछानेले आफूले कुनै ठगी नगरेको दावी गर्दै आइरहेका थिए ।
