काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा लिटरको सात रुपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरको पाँच रुपैयाँ घटाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५३ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ पर्नेछ ।