विराटनगर । प्रदेशसभाबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् ।
बजेट अधिवेशनको पहिलो बैठकबाटै आज मुख्यमन्त्री हिक्मतले विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिनेसम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका हिक्मतलाई मुख्यमन्त्री बन्दा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना प्रदेश सांसदले समर्थन गरेका थिए । हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गर्दा जसपाले साथ दिएको थिएन तर आज एक जना मात्रै सांसद रहेको जसपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने देखिएको छ ।
एमाले र माओवादीका ५२ जना सांसदले समर्थन पाएका मुख्यमन्त्रीले अब जसपाले पनि समर्थन पाउने छन् । कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।