तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत जाजरकोट र पश्चिम रुकुमका भूकम्प पिडित विद्यार्थीहरुलाई सोलार वितरण गरिएको छ ।
भूकम्पले घरमा क्षति गरेर बत्ती नभएका विद्यार्थीहरुलाई लक्षित गरेर सोलार बितरण गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी गराए । कलेजमा अध्ययनरत २३ जना विद्यार्थीहरुलाई सोलार वितरण गरिएको पनि उनले बताए ।
भूकम्पमा परेर घरमा बिजुली नभएका विद्यार्थीहरुलाई अध्ययन गर्नमा असहजता नहोस् भन्नका लागि सहयोग गरिएको होु कलेज प्रमुख आचार्यले भने । सोलार वितरण कार्यक्रममा आर्ट अफ लिभिङका प्रोजेक्ट म्यानेजर किशोर कुमार झाले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई मध्यनजर गरेर सोलार वितरणमा सहयोग गरिएको जानकारी दिए । उनले प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयहरुलाई प्रोजेक्टमार्फत सहयोग गरिएको पनि बताए ।
कार्यक्रममा माध्यमिक विद्यालय सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक विजय जिएम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
