एजेन्सी । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अल जजिरा टिभी बन्द गर्ने निर्णय गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सर्वसम्मत निर्णय गरी इजरायलमा अल जजिरा बन्द गर्न लागेको जानकारी दिएका छन्।

त्यहाँका सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता नहुने बताए। ‘अल जजिरा तुरुन्त बन्द गरिने छ र उपकरण जफत गरिनेछ।’ अल जजिरा कतार आधारित समाचार च्यानल हो ।

इजराइलको संसद्ले गत महिना भारी बहुमतले नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि आइतबार यो निर्णय आएको हो। उक्त कानूनले शीर्ष मन्त्रीहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी च्यानलहरूको प्रसारणमा प्रतिबन्ध लगाउन र तिनीहरूको कार्यालय बन्द गर्न अधिकार दिएको छ।

अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि अल जजिराले इजराइली अभियानको प्रभावको लगातार स्थलगत रिपोर्टिङ प्रसारण गरेको थियो। गाजामा युद्धका क्रममा अल जजिराको कार्यालयमा बमबारी हुँदा उसका दुई संवाददाता समेत मारिएका थिए।

यता अल जजिराले आइतबार गाजा युद्धको कभरेजमा प्रसारणकर्तालाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने इजराइली सरकारको कदमलाई ‘आपराधिक’ भन्दै निन्दा गरेको छ।