काठमाडौँ । लामो समय विवादमा रहेको जसपा अन्तः विभाजन भएको छ । जसपा फुटाएर अशोक राईले नयाँ पार्टी खोलेपछि प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद समेत संकटमा परेको छ । उपप्रधानमन्त्रीसमेत रहेका यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका यादव अमेरिका भ्रमणमा छन् ।

यता दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका सात सांसद अशोक राईको नयाँ दलमा लागेका छन् । यादव पक्षमा अब उनीसहित ५ सांसद मात्र बाँकी छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो ।

गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नु पर्यो ।

ठूलो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बने । तर अशोक राइले नयाँ दल दर्ता गराएपछि ती दुई मन्त्री समेत नयाँ दलतिर गएका छन् ।