दाङ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘विश्वका लागि प्रेस वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ विश्वभर मनाइँदैछ।
यो दिवस ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।
तर स्वतन्त्र प्रेस भनिएपनि नेपालमा विभिन्न समयमा यसको घाँटी निमोठ्ने प्रयास भइरहेका छन् । विभिन्न वहानामा समय समयमा स्वतन्त्र प्रेसमाथि धावा बोल्ने काम भइरहेका छन् । राज्य पक्षबाट होस् या अन्य पक्षबाट होस् मौका मिल्यो कि स्वतन्त्र प्रेसमाथि धावा बोल्ने काम रोकिएको छैन ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो ।” बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने बताउँदै उहाँले यस प्रकारको पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुँने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् ।











