सर्लाही । सर्लाहीमा एक जना स्थानीयको भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा ७२ घर जलेर ध्वस्त भएका छन् । विष्णु गाउँपालिका– १, बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरबाट खाना पकाउने ग्याँस लिक भएर फैलिएको आगोले ७२ घर जलेका हुन् । खाना पकाइरहेका वेला ग्याँस लिक भएर कच्ची घरमा सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो ।

यसरी फैलिएको आगोबाट ७२ घर जलेर ध्वस्त भएका छन् । गाउँमा रहेका फुसका, खपडाका र पक्की घर जलेका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री नष्ट भए पनि क्षति यकिन गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मानवीय र पशुचौपाया भने क्षति हुनबाट जोगिएको छ ।

आगलागीपीडितहरू छिमेकीको घर र बाराउद्योरण प्राथमिक विद्यालयमा बसिरहेका छन् । उनीहरूलाई तत्कालका लागि पालिका र स्थानीयको सहयोगमा खाद्यान्नको जोहो गरिएको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए ।