काठमाडौं । गर्मीको समय भएपनि केही स्थानमा विहान चिसो मौसम छ । दिउँसो गर्मी भएपनि विहानको मौसम भने चिसो छ । किसानलाई मकै छर्ने सिजन आएको छ ।
पहाडी जिल्लामा किसानहरु कहिले पानी पर्ला र मकै खेती गरौला भनेर कुरिरहेका छन् । तर तत्काल पानी पर्ने सम्भाना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी जिल्लामा आकाशे पानीकै भरमा मकै खेती गर्ने गरिन्छ । मकै यहाँको मुख्य बालीपनि हो ।
महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेपनि उल्लेख्य पानी पर्ने सम्भावना नरहेको बताएको छ ।
शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम विज्ञान विभागले जनाएको छ।
