दाङ । नेपाल पत्रकार महासंघ केन्द्रले नेपाल पत्रकार महासंघ दाङ शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । महासंघ केन्द्रले आज शुक्रवार आफ्नो २७ औं महाधिवेशनको अवसरमा दाङ शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मालगायतका अतिथिहरुले दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालनालगायत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै महासंघले उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो ।

महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमूना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रुपमा सञ्चालन गरेका थिए । त्यस्तै दाङ शाखाले पहिलोपटक राष्ट्रिय स्तरको मिडिया महोत्सव आयोजना गरी पत्रकारिताका समसामयिक बिषयमा बहस गरिएको थियो ।

दुर्गालाल केसीको नेतृत्वमा रहेको कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकालमा पत्रकार महासंघ केन्द्रीय समितिले थालेको सदस्यता शुद्धिकरण अभियान, पत्रकारहरुको क्षमता विकास तालिम सञ्चालन, कोरोना महामारीका बेला पत्रकारहरुको उपचार व्यवस्थापन गर्नुका साथै पत्रकारहरुलाई अभिभावकत्व प्रदानलगायत महासंघको संस्थागत विकासमा नमूना काम गरेको थियो । दाङ शाखालाई भरखरै मात्र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले पनि प्रदेशको उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको थियो ।