डीएनए जाँच र वंशाणुगत रोगका कारण उत्पन्न समस्या समाधानका लागि विदेश जानुपर्ने नेपालीको बाध्यता अब टरेको छ । मुलुकै जेठो अस्पताल वीर अस्पतालले झण्डै एक करोड रुपैयाँ खर्च गरेर दुवै प्रकारका जाँच गर्ने जेनेटिक ल्याव सञ्चालनमा ल्याएपछि मुलुक भित्रै डीएनए जाँच र वंशाणुगत रोगसँग सम्बन्धित अरु परीक्षण गर्न सजिलो हुने भएको हो ।
वीर अस्पतालले आजदेखि जेनेटिक ल्याव सञ्चालन गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. गणेश गुरुङका अनुसार नेपाल मै पहिलोपटक सुरु गरिएको यस प्रकारको ल्यावमा मानिसको डिएनए तथा वंशाणुगत समस्या सम्बन्धी सम्पूर्ण जाँच गरिनेछ । स्थापनाको १२७ औं दिवसको अवसरमा अस्पतालले यो सेवा सुरु भएको डा गुरुङले बताउनुभयो ।
चिकित्सकले पत्ता लगाउन नसकेका रोग पत्ता लगाउन पनि यो ल्याव सहयोगी हुने वीर अस्पतालले जनाएको छ । क्यान्सर, सिकलसेल, एनिमिया, गर्भपात लगायतका वंशाणगुत रोगको उपचारका लागि यो ल्याब महत्वपूर्ण हुने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति गुरुङको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो ल्याव सञ्चालनमा ल्याइएको हो । जेनेटिक विशेषज्ञ डा. निलम ठाकुर र अरु दुई ल्याव टेक्निसियनले तत्कालका लागि यो सेवा दिने जनाइएको छ ।